यी हुन् तीव्र गतिको इन्टरनेट भएका देश

विश्वको इन्टरनेट स्पीडको विश्लेषण तथा परीक्षण गर्ने कम्पनी उक्लाले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार विश्वमा मोबाइल तथा ब्रोडब्याण्ड इन्टरनेटको गतिमा उल्लेख्य रुपमा वृद्धि भैरहेको छ ।

स्पीडटेष्ट ग्लोबल इन्डेक्स नामक रिपोर्टअनुसार विश्वमा मोबाइल इन्टरनेटको स्पीडमा २१.४ प्रतिशत तथा ब्रोडब्याण्डको स्पीडमा ३७.४ प्रतिशतले वृद्धि भएको छ ।

रिपोर्टअनुसार विश्वमा सबैभन्दा तीव्र गतिको मोबाइल इन्टरनेट भएको देश दक्षिण कोरिया हो । दक्षिण कोरियामा मोबाइल इन्टरनेटको गति ९७.४४ एमबीपीएस रहेको छ ।

त्यस्तै सबैभन्दा तीव्र गतिको ब्रोडब्याण्ड इन्टरनेट रहेको देशचाहिँ सिंगापुर रहेको छ । सिंगापुरको ब्रोडब्याण्ड इन्टरेनटको स्पीड १९१.९३ एमबीपीएस रहेको छ ।

सबैभन्दा तीव्र गतिको मोबाइल इन्टरनेट रहेका टपटेन देशहरु यी हुन् :

  1. दक्षिण कोरिया : ९७.४४
  2. अस्ट्रेलिया : ६३.३४
  3. कतार : ६१.७२
  4. यूएई : ६१.२४
  5. नर्वे : ६०.९०
  6. क्यानडा : ६०.७२
  7. नेदरल्याण्ड : ५९.५४
  8. स्विजरल्याण्ड : ५४.४२
  9. सिंगापुर : ५०.४३
  10. माल्टा : ५०.१४

त्यस्तै, फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको मामिलामा सबैभन्दा तीव्र गतिको इन्टरनेट भएका देशहरु यी हुन्ः

  1.  सिंगापुर : १९१.९३
  2.  दक्षिण कोरिया : १५६.१८
  3.  ताइवान : १५१.७५
  4.  हंगकंग : १५१.०२
  5.  रोमानिया : १३०.७९
  6.  मोनाको : १२५.६९
  7.  एन्डोरा : ११५.८८
  8. अमेरिका : ११५.६७
  9. स्विजरल्याण्ड : ११५.३८
  10. मकाउ : ११४.४३

भारतभन्दा नेपाल अगाडि

मोबाइल इन्टरनेट स्पीडको मामिलामा नेपाल भारतभन्दा अगाडि रहेको रिपोर्टले देखाएको छ । नेपाल १ सय २९ स्थानमा रहँदा भारत १ सय ३० औँ स्थानमा रहेको छ ।

रिपोर्टअनुसार नेपालको मोबाइल इन्टरनेट स्पीड १०.७० एमबीपीएस रहेको छ । जबकी भारतको मोबाइल इन्टरनेट स्पीड १०.६३ एमबीपीएस रहेको छ ।

मोबाइल इन्टरनेट स्पीडको सूचकांकमा बंगलादेश १ सय ३५ औँ तथा अफगानिस्तान १ सय ४० औँ स्थानमा रहँदै नेपालभन्दा पछाडि रहेका छन् ।

त्यस्तै फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट स्पीडको सूचकांकमा नेपाल १ सय पाचौँ स्थानमा रहेको छ । नेपालको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको स्पीड २०.३८ एमबीपीएस रहेको छ । दक्षिण एसियामा नेपालभन्दा पछाडि माल्दिभ्स १ सय २४ औँ, पाकिस्तान १ सय ५६ औँ, अफगानिस्तान १ सय ६७ औँ स्थानमा रहेका छन् ।

-एजेन्सीको सहयोगमा