लोकसेवा तयारीका लागि प्रश्न र समाधान

सार्वजनिक सेवा प्रवाहमा निजामती सेवाको भूमिका उल्लेख गर्दै सार्वजनिक सेवा बडापत्रमा के कस्ता सुधार गर्नुपर्दछ ? उल्लेख गर्नुहोस् ? १०

शासन गरेर सेवा होइन, सेवा दिएर शासन गर्न सक्षम बनाऊ
सरकार तथा सरकारअन्तर्गतका सम्पूर्ण संयन्त्रले नागरिकलाई उपलब्ध गराउने सेवाको समष्टिगत स्वरूप नै सार्वजनिक सेवा प्रवाह हो । निजामती सेवाले यस्तो सेवाको वितरण गर्दछ । सार्वजनिक सेवाको बजारीकरण र नागरिक सहायताका लागि राखिने सूचना पाटीलाई सेवा बडापत्र भनिन्छ ।


निजामती सेवा र सार्वजनिक सेवा बडापत्र दुवै सेवा वितरणका अंग र एक–अर्काका परिपूरक हुन् । बडापत्रमार्फत सेवाग्राहीले कस्तो सेवा, कति शुल्कमा, कहाँबाट, कति समयमा प्राप्त गर्न सक्छन् भन्ने विवरण समेटिएको हुन्छ । नेपालको संविधान, निजामती सेवा ऐन र सुशासन ऐनले नागरिकको अपेक्षामुताबिकको गुणस्तरीय सेवा वितरणमा जोड दिएका छन् । यद्यपि, निरन्तर सुधार हुन नसक्दा सार्वजनिक सेवा वितरणका यी दुवै माध्यम कमजोर हुँदै गएको तितो यथार्थ हाम्रो सामु छ ।

सेवा प्रवाहमा निजामती सेवाको भूमिका
- सरकारी नियम कानुन र नीतिको 
- कार्यान्वयन गरेर,
- नागरिकलाई प्रत्यक्ष सेवाको वितरण गरेर,
- नागरिक गुनासो सुनुवाइ गरेर,
- सरकार र नागरिकबीच योजकको रूपमा रहेर,
- नजिकको सरकारको रूपमा उपस्थिति जनाएर,
- स्थायी सरकारका रूपमा सेवाको निरन्तरता दिएर,
- नागरिकको विकासका आकांक्षा सम्बोधन 
- गर्न विकास प्रशासकका रूपमा कार्य गरेर,
- विविधता व्यवस्थापनमार्फत सेवामा समाजको लघु रूप प्रतिबिम्बित गरेर,
- नागरिकको नजिकको निकायबाट सेवा वितरण गरेर,
- सेवाको लागत, समय, श्रम घटाएर र गुणस्तर बढाएर,
- नागरिकमुखी सेवा वितरण गरी नागरिको मन जितेर,
- सेवाग्राहीको अधिकारको सम्मान गरेर,
- सरकारविहीनताका अवस्थामा पनि 
- नागरिकलाई आडभरोसा दिएर,
- नवप्रवर्तनीय सेवाहरू वितरण गरेर,
- प्रभावकारी सूचना सम्पे्रषण गरेर,
- सेवाग्राही सचेतना र जागरण अभिवृद्धि गरेर,

सार्वजनिक सेवा बडापत्रमा गर्नुपर्ने सुधार
सेवा वितरणकारी निकायले नागरिकको सेवाका लागि जारी गरेको घोषणापत्र वा प्रतिज्ञापत्रलाई सार्वजनिक सेवा बडापत्र भनिन्छ । सन् १९९२ मा बेलायतबाट सुरु भएको सार्वजनिक सेवा बडापत्र भनिने नागरिक बडापत्र नेपालमा ०५६ सालवाट लागू भएको हो । यसलाई थप प्रभावकारी बनाउन देहायका सुधार गर्नु पर्दछ :
- सेवा बडापत्रलाई थप स्पष्ट र वस्तुनिष्ठ गराउने,
- निकायमा क्षतिपूर्तिसहितको नागरिक बडापत्र लागू गर्ने,
- क्षतिपूर्ति र दाबी प्रक्रियालाई सरल बनाउने,
- क्षतिको भागिदार सम्बन्धित कर्मचारी हुने व्यवस्था समावेश गर्ने,
- सेवा बडापत्र कार्यान्वयनको अवस्थाबारे वस्तुनिष्ठ मूल्यांकन गराउने,
- सबैले देख्ने र बुझ्ने गरी स्पष्टसँग राख्ने,
- आधुनिक विद्युतीय प्रविधि प्रयोग गर्ने,
- सेवा बडापत्रमा समय–समयमा संशोधन र परिवर्तन गर्ने,
- कार्यान्वयन कार्यविधि बनाउने,
- नागरिक सहजताका लागि संकेत चिह्नहरूको प्रयोग बढाउने,
- कार्यबोझ, कर्मचारी संख्या र सेवाको प्रकृति मिलान गर्ने,
- सेवा बडापत्रबारे व्यापक प्रचार प्रसार गर्ने,
- सेवा प्रवाहको प्राथमिकता निर्धारण गर्ने,
- स्थानीय भाषामा समेत राख्ने व्यवस्था मिलाउने,
- गैरसरकारी संस्था तथा नागरिक समाजका व्यक्ति र संस्थासँग सहकार्य गर्ने,
- अन्तरनिकाय प्रभावकारी समन्वय गर्ने,

यसरी, 
नागरिकलाई प्रभावकारी सार्वजनिक सेवा वितरणका लागि निजामती सेवा र त्यसको बजारीकरणका लागि सार्वजनिक सेवा बडापत्र रहेको हुन्छ । राज्यको आधारभूत कर्तव्य नागरिकमुखी सेवा वितरणमार्फत जनताको मन जित्नु हो । त्यसका लागि जीवन्त अंग निजामती सेवा र त्यसको मार्गदर्शन गर्ने सेवा बडापत्रलाई प्रभावकारी बनाउनुपर्दछ । सेवाको वरिपरि जनता नभई जनताको वरिपरि सेवा पु¥याउन गतिशील र संघीयताअनुरूपको निजामती सेवा र वस्तुनिष्ठ सेवा बडापत्र आजको खाँचो हो ।